पोखरा । साहित्यकार हरिदेवी कोइरालालाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य संगमद्वारा प्रदान गरिने पुरस्कार कोइरालालाई प्रदान गर्ने निर्णय गरिएको हो ।

साहित्यकार तथा लोकगायिका हरिदेवी कोइरालालाई ९६ औं गोकुल जयन्तीको अवसर पारेर आगामी जेठ १० गते विशेष समारोहका बिच पुरस्कार प्रदान गरिने संगमका अध्यक्ष भीम रानाभाटले जानकारी दिनुभयो । कोइराला करिब पाँच दशकदेखि प्रगतिशील एवम् देशप्रेमले ओतप्रोत गीत–कविताहरुको सिर्जना र लोकगीतको संकलन तथा गायनका क्षेत्रमा निरन्तर साधना गर्दै आउनुभएको छ ।

गण्डकी साहित्य संगम, पोखराले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टा–द्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ सालदेखि राष्ट्रिय तहमा ‘गोकुल वाङ्मय पुरस्कार’ ४० हजार र गण्डकी क्षेत्रमा रहेर साधना गर्ने साहित्यकाररकलाकारलाई ‘गण्डकी वाङ्मय पुरस्कार’ २० हजार एकरएक वर्ष बिराएर प्रदान गर्दै आएको छ ।
२०१५ सालमा कास्की जिल्लाको पोखरा महानगरपालिका– ६, बैदाममा जन्मेकी हरिदेवी कोइरालाका कविता संग्र्रह, बालकविताका कृतिहरु प्रकाशित छन् भने उहाँले ८ सय भन्दा बढी गीतहरु गाउनुभएको छ ।

कोइरालाले तीजका गीतहरुको संकलन र गायनमा पनि विगत लगभग पाँच दशकदेखि निरन्तर योगदान गर्दै आउनुभएको छ । उहाँका ‘पाइन खबर’, ‘ऐना हेरेर’, फूलको बासना’, झिलझिल सितारा’, आमा तिम्रो दूधको भाराले’ लगायतका गीतहरु चर्चित छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *