


पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।


पुरूष फुटबलतर्फ नयाँ गाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँ गाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो । पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्थाले चन्द्र सूर्य क्लबलाई हराएको हो ।
यस्तै महिला भलिबलतर्फ जनजागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्दै उपाधि जितेको छ । विद्यालय फुटबलमा वेलनन एकेडेमीले एसओएस हर्मन माइनगर गण्डकीलाई हराउँदै च्याम्पियन बन्यो । युनी हक्की छात्र र छात्रा दुवैतर्फको उपाधि सेन्ट फ्रान्सिस स्कूलले जित्यो । छात्रतर्फ सेन्ट फ्रान्सिसले शुत्रराज बलभद्र माविलाई हरायो भने छात्रातर्फ कालिका माविलाई हराएको हो । छात्रतर्फ एसओएस हर्मन माइनर र छात्रातफर्प ज्ञानकुञ्ज एकेडेमी तृतीय भए ।
महिला ब्याडमिन्टन सिंगलतर्फ मितेरी आमा समूहकी चन्द्रा तामाङ छन्त्याल प्रथम बनिन् । जनजागृतिकी गंगा नापित दोस्रो भईने भने स्यानीपाटनकी सिर्जना गुरुङ र आदर्श आमा समूहकी छोमया पुन तेस्रो भए । महिला ब्याडमिन्टन डबलतर्फ बेलबोट आमा समूहका सीता थापा र जिमाया राना प्रथम भए । मितेरी आमा समूहका चन्द्रा तामाङ छन्त्याल र श्रीषा केसी दोस्रो बने । संगम टोलका लक्ष्मी लामा र पुष्पा पन्त एवं एकता आमा समूहका सुशिला पुर्जा र लालीकुमारी खान तेस्रो बने ।
पुरूष ब्याडमिन्टन सिंगलतर्फ तल्लो नयाँ गाउँका तोरण गुरुङ प्रथम, तल्लो सिमलबोट टोल विकास संस्थाका युवराज गुरूङ दोस्रो र कोलपाटन टोल विकास संस्थाका किरण आले र चन्द्रसूर्य क्लबका किस्मत गुरूङ तेस्रो भए । पुरूष ब्याडमिन्टन डबलतर्फ तल्लो सिमलबोट टोल किावस संस्थाका युवराज गुरूङ र प्रकाश गुरूङ प्रथम, चन्द्रसूर्य क्लबका खुम गुरुङ र मनी प्रसाद गुरुङ दोस्रो, चार भाइ युवा क्लबका कृष्ण ब. गुरुङ र पूर्ण बहादुर जिसी तथा कोलपाटनका किरण आले र अमबहादुर खोरजा तेस्रो भए ।
समापन कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन् ।
वडा अध्यक्ष तोरण बानियाँले वडा नं. १५ ठूलो क्षेत्रफलमा फैलिएको र यस खेलकुद महोत्सवले वडावासीहरूबीच आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए । महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको र यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
