

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ ।
कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महारज आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।


उनका अनुसार जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ३ गते देखि ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । उनीहरूले कोटिहोममा प्रवचन गर्नेछन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन र आशीर्वादले कोटिहोमको महत्व झनै बढाएको संयोजक ढकालले जानकारी दिए ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले गण्डकी कोटिहोम ज्ञान महायज्ञमा जेठ १ गते देखि एक सय जना कथा व्यास, एक सय जना सन्त, एक सय भन्दा बढी राष्ट्रिय कलाकारको आगमन हुने जानकारी दिएसँगै सन्तहरूको आगमन बढ्दै गएको छ।
उनले कोटिहोममा भोलि शनिवार मात्रै एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको जानकारी दिए । उनका अनुसार शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेकोले पनि कोटिहोममा भोलि भक्तजनको उपस्थिति उल्लासमय हुने विश्वास लिइएको छ ।
