


पोखरा । आगमी जेठ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ को एउटा गीत सार्वजानिक गरिएको छ । पुरानो फिल्म ‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’लाई पुनः रेकर्ड गरेर फिल्म समावेश गरिएको उक्त गीतको नयाँ भर्सन सार्वजनिक गरिएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का लगायत नृत्य गर्दै देखिएका छन् ।


गीतमा शम्भुजित बाँस्कोटाको स्वर, शब्द तथा संगीत छ । उनलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । पुरानो भर्सनमा शम्भुजित र देविका बन्दनाको स्वर थियो ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाललाई ८ वर्षपछिको कमब्याक गरिएको छ । यसमा हमाल एक्सन भूमिकामा छन् ।
