तस्विर- बीबीसी हिन्दी

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा एउटा घाटमा भागदौड मच्चिएको छ। सञ्चारमाध्यमका अनुसार त्यहाँ कैयौँ घाइते भएका छन् भने केही मानिस हताहत भएको अनुमान गरिएको छ।

मौनी अमावास्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको ​‘अमृत स्नान’का वेला मंगलबार राति साढे १ बजेतिर भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ। ​प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा भागदौडको अवस्था निम्तिएको थियो।

प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्। प्रशासनले भने अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।

प्रयागराज मेला प्राधिकरणकी ओएसडी आकांक्षा राणाले पत्रकारसँग कुराकानी गर्दै कतिपय ठाउँमा ब्यारियर फुटेको खबर आएका कारण भागदौडको अवस्था सिर्जना भएको बताइन्। उनले घाइतेहरूको उपचार भइरहेको जानकारी दिए पनि मृतकको संख्याबारे बताइनन्। घटनापछि सबै अखाडाहरूले मौनी अमावास्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *