२०४६ सालको परिवर्तन, दशवर्षे द्वन्द्व, २०६२/६३ को जनआन्दोलन र विभिन्न विद्रोहलाई सामना गर्दै आएको मेरो पुस्ताले २०८२ भदौ २३ र २४ मा एउटा असाधारण प्रतिरोधको क्षण भोग्यो । दुई दिनमा देशका हजारौं युवा काठमाडौं र अन्य मुख्य शहरका सडकमा निस्किए । सरकारद्वारा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा प्रतिरोधको आवाज बुलन्द पारे । आमरूपमा कहीं कतैबाट अनुमान गरिएभन्दा फरक किसिमको यो प्रतिरोधले एकाएक आँधीको स्वरुप धारण गर्‍यो ।

राज्य सञ्चालकहरूले आफ्नो आन्दोलनमाथि दानवी स्वरुप प्रकट गरे । देशका दर्जनौं होनहार सन्ततिले सहादत दिनुपर्ने स्थिति बन्यो । सयौं घाइते र अपाङ्ग बन्न पुगे । तर, त्यो आँधी रोकिएन । परिणामत: आज हामी सबैका अगाडि छर्लङ्ग छ– तीन दशकदेखिको दलतन्त्र र ठालू गठबन्धनले कब्जा गरेको राज्य संयन्त्र र यसले निर्माण गरेको तमाम प्रपञ्च दुई दिनमा धराशायी भयो । नेपाली जनक्रान्तिको इतिहासमा यो प्रतिरोधले एउटा नयाँ अध्याय थप्न पुगेको छ ।