


पोखरा । पोखरा ९ नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले दाबी गरेको छ ।
संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड बितरणको व्यवस्था मिलाइएको छ । नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध हुन्छ ।


‘यस्तै त्यहाँ राखिएका स्टलबाट ल्यापटप तथा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट, सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निशुल्क, स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा, मोबाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था छ,’ उपाध्यक्ष बास्तोलाले भने, ‘दैनिक टिकटमा १० जनालाई बन्दीपुर केबलकारको टिकट तथा ५ जनालाई मोवाइल फोन नै प्रदान गरिएको छ ।’
मोबाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको संघका महासचिव शोभा गौतमका अनुसार अलोकनकर्ताका लागि टिकटक बनाउने प्रतियोगितासमेत मेला अन्तर्गत नै आयोजना गरिएको छ । टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने पनि उनले जानकारी दिइन् । भ्युअर्सका आधारमा विजेता छनोट गरिनेछ ।
आइटी महोत्सव अन्तर्गत सूचना प्रविधिसम्बन्धी विभिन्न परियोजना, नयाँ प्रविधि तथा रोबोटहरु, विद्यार्थीले दृष्टिविहीनका लागि उपयोगी हुने सेन्सरसहितको छडी र विद्युतीय गाडी जस्ता प्रदर्शनीले पनि मेलाको रौनक थपेको प्रचार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए । आइटी मेला अन्तर्गत नै वैदेशिक पलायन रोक्न परामर्शको व्यवस्थासमेत मिलाइएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि सञ्चालित मेलाको नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोबाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ ।
मधेस प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द कल्चरल सेण्न्टर, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।
