पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।

‘कति मान्छे आए,कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुपर्यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हे¥यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए ।गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत् हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको पनि सुनाए ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले नै मेला आयोजना गरेको बताए ।

जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग÷व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए । उनले हवाइ मार्गबाट पनि पोखरालाई जोड्न चाहेको बताए । मधेश प्रदेशका मुख्यमन्त्री स्वयं गढीमाइ मेलाको चर्चा गर्दै भारतबाट आउने पर्यटकलाई पोखरासँग जोड्न लालायित भएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा मुख्यमन्त्री स्वयं आउन चाहेको पनि बताए । उद्घाटन सत्रमा मधेश प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।

क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् ।
‘अध्यादेशले नेपालमै स्थापित कम्पनीलाई पनि विश्वस्तरको बनाउने बाटो खुलेको छ । पहिले विदेशबाट विज्ञहरु ल्याएर काम गराउन गाह्रो थियो, स्वेट इक्विटी शेयरको पनि बाटो खुलेको छ,’अध्यक्ष पाण्डेले भनिन्,‘नेपालले एआइ भनौँ वा आइओटी (इन्टरनेट फर थिङ्स) भनौँ, त्यसबारे सिक्न बाँकी छ । अध्यादेशले नलेज र कल्चर एक्सचेञ्जको लागि बाटो खुलाएको छ,हामीले काम गर्नुपर्छ ।’

मेलाको उदघाटन समारोहपछि सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएका थिए । सो उपक्रममा रोल्पा–पोखरा सम्पर्क समाजले आफ्नो परम्परागत भूमेनाच प्रस्तुत गर्यो । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिले पनि माहौल ततायो । समुद्घाटनअघि विभिन्न आमा समूह, विद्यार्थीहरु,सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले र्याली र झाँकी पनि प्रस्तुत गरेका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । उनका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने,मञ्जु पौडेल,घनश्याम रिजाल,कमला गैरे,सविना गुरुङ सांगीतिक प्रस्तुति रहने उनले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *