



काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को प्रचार नौलो तरिकाले थालिएको छ। निर्माण पक्षले फिल्मको प्रचार अत्याधुनिक प्रविधि एआईको प्रयोग गरेर सुरु गरेको हो।

प्रचार भिडियोमा हिममानव यती सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोध्छन्। अनि हिमाली क्षेत्रमा सिनेमा हल छैन। त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आशय व्यक्त गर्छन्। अर्को भिडिओमा यतीले आफूले ‘पूर्ण बहादुरको सारंगी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर-१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ देखि हलमा लाग्छ भनेका छन्।


ठूलो बजेट लाग्ने एआई भिडिओ बनाएर निर्माण पक्षले सिनेमा प्रचारमा प्रयोग गरिरहेको छ। यसले एआईको प्रयोग सिनेमा प्रचारमा पनि गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ अहिले पोस्ट प्रोडक्सनमा छ। फिल्मको मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्ष सिनेमाको मुख्य कथा भएको बताइएको छ। यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’ लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।
