



पोखरा । टिकटकबाट म्यूजिक भिडियोमा प्रवेश गरेकी मोडल प्रिन्सी खतिवडालाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । उनी अभिनेता भुवन केसीले निर्देशन गर्न लागेको फिल्म ‘बाटुलो जून’ मा अनमोल केसीको जोडी बनेर देखिदैछन् ।

उनलाई निर्माण टिमले अडिसनबाट छानेको हो । एक साताअघि प्रिन्सीसहित १५ जनाको अडिसन लिइएको थियो । प्रिन्सीले केही दिनयता अनमोलसँग वर्कसपमा बसेर उनले स्क्रिप्ट अध्ययन गर्दै चरित्र निर्माण गरिरहेकी छन् ।


अभिनेत्री जीया केसीले निर्माण गर्न लागेको फिल्मको दुई चरणमा छायांकन हुने र पहिलो चरणको सुटिङ अर्को सातादेखि चित्लाङबाट सुरु हुनेछ । अंगुर खेतीको दृश्य खिच्दै छायांकन सुरु हुन लागेको हो । दोस्रो चरण मनसुनपछि सुरु हुनेछ ।
चलचित्र विकास बोर्डबाट ‘बाटुलो जून’ शीर्षकमा फिल्म निर्माणका लागि इजाजत लिँदा लागत २५ लाख मात्र उल्लेख गरिएको छ । यसअर्थ यो अनमोलको करिअरकै सस्तो बजेटको फिल्म हुनेछ ।
