पोखरा । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हमालसहित सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिब जंग बस्नेत, राकेश मानन्धर टार्जन लगायतको अभिनय छ । यो हमालको ८ वर्षपछिको कमब्याक फिल्म हो ।
फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला ‘अच्छा लेकिन लण्डनको’ गीतका कारण चर्चामा छ । युट्युब रिलिजको ६ दिनमा १७ लाखभन्दा बढी भ्यूज पाइसकेको गीतले फिल्मको ‘हाइप’ निर्माणमा ठूलो भूमिका खेलेको छ । फिल्मको ‘स्टारकास्ट’ र गीतको चुलिँदो चर्चा हेर्दा बक्स अफिसमा राम्रो व्यापारको सम्भावना देखिन्छ । फिल्मको प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारमा तीव्रता दिइरहेको छ ।