


पोखरा । नेपाली सांगीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरामा उहाँका कालजयी गीतले सभाहल गुञ्जायमान भयो ।
पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा इभेन्ट सेन्टरमा आयोजित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा पोखरेली कलाकारले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएका हुन् । हार्मोनीमा आबद्ध कलाकारले सामूहिकरुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भयो । लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदा सांगीतिक माहोल तातेको थियो ।


रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ ,कौशल्या गुरुङले ‘यति धेरै माया दिई’, गायिका ईतु जोजिजूले ‘उकाली ओरालीहरुमा’ गाउँदा होस् वा उहाँले आफ्ना पति रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाइरहे ।
गायिका शीतल थापाले ‘सागुरी बारि नि है’ र शीतलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मीतु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक माहोल नै छुट्टै बनेको थियो ।
काठमाडौँमा क्रियाशील महिला गायिकाको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष संगीता राना प्रधानले ‘फूललाई सोधेँ’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैँ भएको थियो । यस्तै, बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो ।
त्यस्तै, पोखरेली कलाकारले समूह गानतर्फ ‘यो मायालाई भरोसा छैन’, ‘हाम्रो साहेब’ (मायाप्रिती चलचित्रबाट) र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाइएको थियो ।
