सन्तोष सुवेदी, पोखरा । वर्ष २०८१ नेपाली फिल्म क्षेत्रको लागि सुनौलो वर्ष बन्न पुग्यो । वर्षको सुरुवातदेखि अन्त्यसम्म आइपुग्दा नेपाली फिल्म उद्योग निकै चलायमान बन्यो । बैशाखदेखि चैतसम्मलाई हेर्नी हो भने डेढसय करोडमाथिको व्यापार नेपाली फिल्मले मात्र गरेका छन् ।

यो वर्ष धेरै कमाउने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यो फिल्मले नेपालमा ४६ करोड ८० लाख ग्रस कलेक्सन गरेको छ । यस वर्ष दोस्रो धेरै कमाउने नेपाली फिल्म ‘१२ गाउँ’ बनेको छ । यसको कमाइ झन्डै २० करोड ग्रस छ । तेस्रो नम्बरमा १५ करोड २० लाख ग्रससहित ‘छक्का पञ्जा ५’ छ भने १० करोड ग्रससहित ‘बोक्सीको घर’ चौथो र ७ करोड ५० लाख ग्रस व्यापारसहित हाल प्रदर्शनरत फिल्म ‘अञ्जिला’ पाँचौं नम्बरमा छ ।

गत जेठमा प्रदर्शन भएको ‘पूजार सार्की’ पनि यस वर्ष धेरै कमाउने फिल्मको सूचीमा पर्छ । फिल्मको कमाइ ७ करोड ३७ लाख ग्रस छ । फिल्म ‘घरज्वाइँ’ ले ५ करोड ९ लाख कमाएको छ । ‘मनसरा’, ‘लाज शरणम्’, ‘ह्रस्व दीर्घ’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फर्की फर्की’, ‘बेहुली फ्रम मेघौली’ र ‘खुस्मा पनि करोडौ कमाएका यो वर्षका सफल फिल्म हुन् ।

एक समय यस्तो पनि थियो, हलमा फिल्म प्रदर्शनमा आएपनि फिल्म हेरिदिने दर्शकको अभाव हुन्थ्यो । हल सञ्चालकले एक साता नहुँदै फिल्म हलबाट हटाउने गर्थे । फिल्म निर्माताले लगानी उठाउन पनि मुस्किलको अवस्था थियो । तर, यो वर्ष प्रदर्शनमा आएका नेपाली केही फिल्मले सिने क्षेत्रमा नयाँ आयाम थपेका छन् । जसले गर्दा फिल्म उद्योगमा अब निराशा भन्दा आसाको दियो बल्न थालेको छ । फिल्म हलमा दर्शकको उपस्थितिले नेपाली सिने नगरीको मोहोल उल्लासपूर्ण बनेको छ । वर्षको सुरुमा प्रदर्शन भएको ‘बोक्सीको घर’ बाट फिल्मले वर्षौदेखि गुमाउँदै आएको व्यापारको लय समाउन सफल भएको थियो ।

पछिल्लो समयमा प्रदर्शनमा आएका र बन्दै गरेका केही फिल्म हेर्दा नेपाली फिल्म क्षेत्र परिवर्तनको बाटोमा लागेको देखिन्छ । फरक–फरक स्वादमा बनेका फिल्महरुले नेपाली फिल्मी क्षेत्रमा नयाँ आयाम थपेका छन् ।

फिल्म चल्न र चलाउनका निम्ति मात्र निर्माण गरिनु हुन्न् । कथावस्तु, अभिनय,द्वन्द्व, संगीतसँगै गहन अध्ययनबाट परिष्कृत हुनु पर्छ । नेपाली चलचित्र सतही तवरले बन्छन् र केही मरमसलाका सूत्र प्रयोग हुन्छन् भन्ने आमदर्शकदेखि समीक्षक सम्मको एकै खालको बुझाइ थियो तर यो शास्त्रीय बुझाइमा अब विराम लागेको छ ।

नेपालमा भिन्न स्वाद र कथाका चलचित्र बन्छन् । अक्कल बिनाका नक्कलमा मात्र नेपाली चलचित्र छैनन् भन्ने नयाँ र सकारात्मक सन्देश प्रभाव हुँदै छ । नेपाली फिल्मको श्रीवृद्धिका निम्ति अब धेरै ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता फिल्म बन्नुपर्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *