


पोखरा । पछिल्लो समय विदेश पढ्न र रोजगारीको लागि जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । देशमा पढेर रोजगारीको अवसर नपाएपछि युवा जगत धमाधम विदेशीने बाध्य भएका छन् ।
नेपाली शैक्षिक संस्थाको सेवामाथिको गुणस्तरमा प्रश्न, पढाइ सकेपछि अवसरको अभाव, बेरोजगारी, महंगी लगायतका विभिन्न बाध्यताका कारण वैदेशिक अध्ययन गर्न जानेको संख्या दिन प्रतिदिन बढेको हो । नेपालमा निश्चित तहसम्मको पढाइ सकेका विद्यार्थीहरु र दक्ष जनशक्ति समेत जति छिटो र राम्रो अवसर पाइन्छ त्यतै जाने गरेका छन् ।


पछिल्लो समय धेरै विद्यार्थीहरुको रोजाइ क्यानडा, अष्टे«लिया, जापान, दक्षिण कोरिया लगायतका देशमा हुने गरेको छ । कोरियाले नै सन् २०२७ सम्ममा विदेशी विद्यार्थीको संख्या तीन लाख पु¥याउने लक्ष्य लिएको छ । यसअनुसार पछिल्लो समय दक्षिण कोरिया नेपाल मात्रै नभई अन्य देशका विद्यार्थीका लागि रोजाइको गन्तव्य बन्दै गएको छ ।
हरेक महिना विदेश अध्ययन र भ्रमणमा जानुले ठूलो रकम बाहिरिँदै पनि गएको छ ।
नेपाली विद्यार्थीको संख्या बढेसँगै उक्त शीर्षकमा देशबाट बारिहने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकारहरु बताउँछन् । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ । पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।
