काठमाडौँ — प्रो कबड्डी लिग भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटजत्तिकै नभए पनि त्यत्तिकै लोकप्रिय खेलमा पर्छ । दुई साताअघि हरियाणा स्टिलर्सले फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै च्याम्पियन भएको थियो । हरियाणाको टोलीमा एक नेपाली खेलाडी घनश्याम रोका मगर थिए ।

हरियाणाका उनै रेडर घनश्याम नेपाल कबड्डी लिग (एनकेएल) काठमाडौं आइपुगेका छन् । एनकेएललाई निकै उत्साहित उनले भने, ‘दुई वर्षअघि म नेपाल आउँदा कबड्डीको खासै चर्चा देखेको थिइनँ तर अहिले यस खेललाई लिएर धेरैमा उत्साह देखेको छु ।’

उनका बुबा रोल्पा लिबाङका हुन् । तीन दशकअघि उनका बुबा भारत लागेपछि घनश्याम उतै जन्मे, उतै हुर्किए । लबज पनि उनको हिन्दी नै छ । कबड्डी उनले सिकेको पनि भारतमै हो । २०२३ मा बंगबन्धु कबड्डी कपबाट ‘डेब्यु’ गरेका उनले गत वर्ष सोही प्रतियोगितामा नेपालको कप्तानी नै गरेका थिए । सो प्रतियोगितामा नेपाल उपविजेता मात्र बनेन, घनश्याम प्रतियोगिताको उत्कृष्ट खेलाडी नै बने ।

२१ वर्षे घनश्याम माघ ४ गतेदेखि हुने एनकेएलमा काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन् । फ्रेन्चाइज टिमको अवधारणामा पहिलोपल्ट आयोजना गर्न लागिएको एनकेएललाई घनश्यामले भने, ‘नेपालमा यस्तो (एनकेएल) प्रतियोगिता पहिला कहिल्यै भएको थिएन । यसपालि खेलाडीले राम्रो पैसा पाउँदै छन् । कर्पोरेट हाउसहरूले टिम खरिद गरेका छन् । खेलाडी, प्रशिक्षक सबैले राम्रो सुविधा पाएको छ । त्यसैले एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक रूपमै स्थापित गर्ने र भविष्यमा ठूलो प्रतियोगिताका रूपमा स्थापित हुने विश्वास लिएको छु ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *