काठमाडौं: आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो ।

मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो ।

नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *