



काठमाडौं । पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् ।
बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएपछि उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्ने जमर्को गरेको बताएका हुन् ।

उनले भने,‘एउटा दिलभूषण पाठकलाई साङ्केतिक रुपमा प्रयोग गरेर तमाम नागरिक समाजअथवा सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्न खोजेको हो ।’ त्यस्तै उनले समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे ।


न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न भएका धारणा राखेको उनको भनाइ थियो । उनले आफूले पनि यस मुद्दालाई त्यसरी नै बुझेको बताए ।
पत्रकार पाठकले सार्वजनिक पदमा बस्ने मानिसहरु नागरिकका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने, सार्वजनिक पदमा बस्ने मानिसहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थाले भने यस्तो खालको आक्षेपहरु लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको स्पष्ट पारे । तर सो कन्टेन्टलाई नीजि औजारका रुपमा प्रयोग गरेर आफू माथि आक्रमण गर्ने प्रयास भएको उनको भनाइ छ ।
