



काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । हास्यरसले भरिएको २ मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को शान,सौकत र ऐस, आरामयुक्त जिन्दगी देखाइएको छ ।

उनको पात्र पैसाको तुजुकमा आफूलाई राजा ठान्ने गर्छ । टिजरमा उनी दुई अलग गेटअपमा प्रस्तुत छन् । टिजरमा विल्सन विक्रम राई र वर्षा सिवाकोटीलाई पनि स्थान दिइएको छ ।


ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा केदार, वर्षा र विल्सनसहित शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी मिस पवी लगायतको पनि अभिनय रहेको छ । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा मित्र गुरुङको सम्पादन रहेको छ ।
