



पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष असार १५ मा हुने रोपाइँ महोत्सव यसपटक लेखनाथको गुँदेतालस्थित फाँटमा हुने भएको छ ।
पोखराको पर्यटकीय आकर्षणकोरुपमा रहकेको रोपाइँ महोत्सव यो २०औं संस्करण हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ असार १५ गते गुँदेताल क्षेत्रमा गरिने जानकारी दिए ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले जानकारी दिए।


महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान, विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।
लेखनाथ क्षेत्रमा गुँदेलगायत सात ताल रहेको र यस्तो महोत्सवले यी तालको प्रचारप्रसारसँगै समग्र लेखनाथको पर्यटकीय महत्वलाई उजागर गर्न सहयोग पुग्ने पोखरा २६ का वडासदस्य सुदीपराज ढुङ्गानाको विश्वास छ ।
