

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले महत्वपूर्ण पाँच घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएलगत्तै यस्ता घोषणा गरेका हुन् ।
ट्रम्पको शपथ समारोमा बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टनजस्ता धेरै अमेरिकी राष्ट्रपति, राष्ट्रिय नेता, व्यापारी शपथ ग्रहण समारोहमा सहभागी थिए ।
आफ्नो उद्घाटन सम्बोधनमा, ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु हुन लागेको बताए । राष्ट्रपति बनेको पहिलो दिन ट्रम्पले करिब एक सय कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा अध्यागमन, ऊर्जा, अर्थतन्त्र र लैंगिक मुद्दाहरू समावेश हुनेछन् ।


यस्ता छन् ट्रम्पको उद्घाटन भाषणका महत्वपूर्ण ५ विषय :
१. अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले जानकारी दिए । ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए । यसका साथै उनले छिट्टै ‘मेक्सिको खाडी’को नाम फेरेर‘अमेरिका खाडी’ राखिने बताए ।
२. पानामा नहरबाट चीनबाट फिर्ता लिने
ट्रम्पले पानामा नहरलाई चीनको हातबाट फिर्ता लिने घोषणा गरेका छन् । ‘पानामा नहर हामीले कहिल्यै चीनलाई दिएका छैनौं, हामी यसलाई फिर्ता लिनेछौं,’ उनले भने । सम्बोधनका क्रममा ट्रम्पले यसो भनेपछि उनका समर्थकले ताली बजाए भने जो निवर्तमान राष्ट्रपति बाइडन र कमला ह्यारिस भने कुनै प्रतिक्रिया नदिई मौन रहे ।
३. अमेरिकी अन्तरिक्ष यात्रीलाई मंगल ग्रह पठाउने
ट्रम्पले अमेरिकालाई नयाँ उचाइमा लैजाने बताएका छन् । उनले अमेरिकाले आफ्नो सम्पत्ति बढाउने, आफ्नो क्षेत्र विस्तार गर्ने र मंगल ग्रहमा झण्डा फहराउने बताए ।
४. मध्यपूर्वमा शान्ति ल्याउने
राष्ट्रपति ट्रम्पले आफू शान्ति ल्याउने र मध्यपूर्वमा सबैलाई एकताबद्ध गर्ने नेता बन्ने दाबी गरेका छन् । उनले गाजामा हमासले बन्धक बनाएका तीन इजरायली बन्धकको नाम दिँदै यस्तो बताएका हुन् । ती सबै बन्धकहरू आइतबार परिवारकहाँ फर्किएका छन् । ट्रम्पले भने, ‘अमेरिकाले विश्वको सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली र सम्मानित देशको रूपमा आफ्नो सही स्थान प्राप्त गर्नेछ । हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरित गर्नेछ र प्रशंसाको केन्द्र बन्नेछ ।’
५. अब अमेरिकामा दुई लिंग मात्र हुने
ट्रम्पले आफ्नो भाषणमा आफ्नो सरकारले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जात र लिंग समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने बताएका छन् । उनले सोमबारदेखि अमेरिकी सरकारको आधिकारिक नीति पुरुष र महिला दुई लिंग मात्र हुने घोषणा पनि गरेका छन् ।
ट्रम्पको भाषणले विश्वव्यापी मञ्चमा अमेरिकाको शक्ति र सम्भावनालाई उजागर गर्ने बलियो सन्देश दिएको उनको विश्वास छ । उनले आफ्नो मन्त्रिपरिषद्का सबै सदस्यलाई मुद्रास्फीतिलाई परास्त गर्न र लागत र मूल्यलाई छिटो घटाउन हरसम्भव प्रयास गर्न निर्देशन दिने बताए ।‘अमेरिका फेरि उत्पादक राष्ट्र बन्नेछ,’ उनले थपे, ‘हामीसँग संसारमा सबैभन्दा बढी तेल र प्राकृतिक ग्यास छ । यसलाई पूर्ण रूपमा प्रयोग गर्नेछौं ।’ उनले ‘ड्रिल बेबी ड्रिल’ भन्ने नारा पनि दिएका छन् ।
ट्रम्पको यो घोषणाले आगामी दिनमा भारतलाई पनि असर बताइएको छ । अमेरिका र चीनपछि भारत विश्वको सबैभन्दा ठूलो तेल खपत गर्ने देश हो । भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत तेल आयात गर्छ । यसको ठूलो हिस्सा अमेरिकाबाट आउँछ ।
