

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाँकी प्रदर्शन हुने छ । कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाँकी प्रदर्शन गरिएको हो । हुन पनि कोटिहोममा आफ्नो जातीय संस्कृति प्रस्तुत गर्न पाइने र सगसगै ऐतिहासिक कोटिहोमको दर्शन गर्न पाईन भएकाले पनि देशभरबाट विभिन्न जातजातिहरू आफ्नो झाँकी सहित कोटिहोममा आउने गरेको आयोजकले जनाएको छ ।
यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।


त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए । ‘कोटिहोममा देशभरबाट विभिन्न जात जातिले आफ्नो संस्कृति प्रस्तुतसँगै कोटिहोम दर्शन गरेका छन्’ खनालले भने– ‘धर्मसँगै विभिन्न जात जातिको संस्कृतिलाई उजागर गर्ने थलो कोटिहोम वनेको छ ।’
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ ३ गते शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेको जानकारी दिए । उनका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक संघ संस्था पनि सामेल हुनेछन् । उनले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण हुने बताए ।
कोटिहोममा आज चर्चित गायिका एलिना चौहान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको पनि प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा जेठ २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ । कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
