


पोखरा । पछिल्लो समयका व्यस्त र खोजिमा परेका गायक तथा पर्फमर दुर्गेश थापाले फिल्म ‘कर्मा’ को लागि गीत गाएका छन् । उनले केही दिनअघि नै रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन गरिएको छ । जसमा दुर्गेश स्वयं प्रस्तुत छन् । उनको गीत फिल्मभित्रै समावेश गरिने जनाइएको छ ।
गीतको भिडियोमा दुर्गेशसहित फिल्मका शीर्ष कलाकारहरु विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायतलाई प्रस्तुत गरिएको छ । भिडियोलाई अर्को साता सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । गायक सुशान्त केसीले यसअघि गाएको गीत ‘पागल पागल जस्तै’ सोमबार सार्वजानिक गरिएको छ । उनले फिल्मका लागि पहिलो पटक गीत गाएका हुन् । केही दिनअघि गीतको टिजर सार्वजनिक भएदेखि यसको हुकलाइन ‘म पागल पागल जस्तै’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ ।


फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीमाथि फिल्मांकन गरिएको गीतको भिडियोमा गायक केसी पनि फिचर्ड छन् । विपिन र उपासनाबीचको प्रेमलाई भिडियोमा चित्रण गरिएको छ ।
सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्ममा विपिन, उपासना र मुकुनसहित दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । एक्सन जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । यो फिल्म नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
