पोखरा । पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन ।

नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष डा. त्रिभुवन शर्मा बरालले जानकारी दिए ।

‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनुहुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित पढाउने कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष बरालले भने ।

उनका अनुसार पोखराका विभिन्न निजी विद्यालयका विद्यार्थीलाई बाटोमा गणित सिकाउने गरि आव्हान गरिएको थियो । मदरल्याण्ड मावि लगायतका विद्यार्थीले बाटोमा उभिएर बटुवालाई गणितको ज्ञान सिकाएको उनले बताए ।

उनका अनुसार विद्यार्थीले बटुवालाई गणितको समान्य अवधारणा बाटोमा सिकाएका थिए । विभिन्न मनोरञ्जनात्मक तरिबाट खेल खेलाउँदै गणित सिकाउने र जित्नेलाई पुरस्कार पनि दिँदा कार्यक्रम प्रभावकारी बनेको उनले बताए ।

उनका अनुसार विश्वका विभिन्न देशमा बाटोमा गणित पढाउने अभ्यास रहेको छ । पोखरामा पछिल्लो तीनवर्षदेखि निरन्तर यो कार्यक्रम आयोजना गरिएको छ । ‘संसारका अरु देशमा पनि यो अभ्यास छ । गणित नपढेका बटुवाले पनि केही कुरा जानुन । ज्ञानलाई बढी महत्व दिएर सिकाउने अभ्यास हो,’ उनले भने, ‘घरायसी व्यवहारमा पनि गणित लागु हुुन्छ । त्यसैले बटुवालाई पनि सहभागि गराएका हौ ।’

अध्यक्ष बरालका अनुसार गणितका विविध विषय र क्षेत्रमध्ये ‘टावर अफ हनोइ’ मेजरमेन्ट अफ फोर लिटर’ ट्रयाङ्गल, फर्मेसन, पजल जस्ता क्षेत्रका विविध सामग्री निर्माण गरी आफूले जानेका ज्ञान, सिप र धारणा बाँड्ने विद्यार्थीलाई बटुवालाई सिकाएका थिए ।

मदरल्याण्ड माविका कक्षा ९ का विद्यार्थीले सडकमा उभिएर बाटो हिडेका बटुवालाई गणितबारे ज्ञान दिएका थिए । मदरल्याण्ड माविका प्राचार्य डा. नारायण बरालका अनुसार यो अभ्यास धेरैका लागि नौलो थियो । किनकी गणित कक्षाकोठामा मात्र पढाउन सम्भव छ भन्ने उनीहरुले बुझेका थिए । ‘गणितको ज्ञानको महत्व बुझाउन पनि यस्ता कार्यक्रममा विद्यार्थीलाई सहभागि गराएका हौ,’ प्राचार्य बरालले भने, ‘नौलो अभ्यास भएकोले पनि धेरैले चाँसो दिएका थिए ।’

उनका अनुसार विद्यार्थीका क्रियाकलाप देख्दा सुरुमा छक्क परेका सहभागि बटुवा पछि यसको महत्व, उद्देश्य र मर्म बुझेपछि भने दंग परेको उनले बताए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *