पोखरा । फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एकजना महिला पक्राउ परेकी छन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई केन्द्रीय अनुसन्धान व्यूरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

पोखराको लेकसाइडस्थित एक होटेलबाट सोमबार लामाले एक अमेरिकी बृद्ध नागरिकको अपहरण गरेको प्रहरीले जनाएको छ । अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण परेको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट ती वृद्धालाई अपहरणमुक्त गरिएको एसपी ओलियाले बताए ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो (आजको दर अनुसार ४ करोड ४१ लाख रुपैयाँ बढीं) फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *